नेपालगन्ज, १७ जेठ ः बजारका विभिन्न भागमा जनताको स्वास्थ्यमा असर पुग्ने गरी म्याद नाघेका औषधी तथा खाद्य पदार्थहरु विक्रीमा राखेकाले कडाइका साथ अुनगमन थालिएको छ । त्यसैक्रममा जिल्ला अनुगमन टोलीले सोमबार बांकेको रांझा बजारमा अनुगमन गरेको छ । बजारका विभिन्न पसलमा अनुगमन गर्दा म्याद नाघेका थुप्रै खाद्य पदार्थहरु फेला परेपछि नष्ट गरिएको छ ।
उपभोक्ता मञ्च नेपाल बांकेका अध्यक्ष तथा अनुगमन टोलीका सदस्य नारायण सुवेदीले आधा दर्जन पसलमा म्याद नाघेका खाद्य पदार्थ भेटीएपछि मुचुल्का उठाइ सबैलाइ नष्ट गरिएको जानकारी दिए ।उनले विभिन्न औषधी पसलहरुमा म्याद नाघेका औषधीहरु बिक्रीमा राखेकाले त्यसप्रति सचेत हुन उपभोक्तालाई आग्रह गर्दै अनुगमन टोलीले ती औषधी पसलहरुमा अनुगमन गर्न जाने बताए ।
उनका अनुसार, रांझाको न्यू वर्मा किराना पसल, पम्फा स्टोर, यादव किराना पसल, अमृत जनरल स्टोर, सुमन जनरल स्टोरबाट म्याद नाघेका खानेकुराहरु फेला परेको थियो । म्याद नाघेका ५ सय ८ थान कुरकुरे, ४३ थान हाजमोला, ४० थान हाजमोला जलाएर नष्ट गरिएको अध्यक्ष सुवेदीले वताए । बाणिज्य कार्यालयको संयोजकत्वमा भएको अनुगमनमा सोही कार्यालयका निमित्त प्रमुख देवी प्रसाद श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय बांकेका सुब्बा जोहार शर्मा, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक एकराज बुढाथोकी, नापतौल कार्यालयका सिनियर मिस्त्री अर्जुन सिंह सिजापति, मधेशी उपभोक्ता मञ्चका सदस्य मुनव्वर अलि हलवाइ रहेका थिए ।
टोलीले ठाउं ठाउंमा म्याद नाघेका खाद्य पदार्थ तथा औषधीहरु राखेकाले कडाइका साथ अनुगमन गर्ने जनाएको छ । मञ्चका अध्यक्ष सुवेदीले भने - मानव स्वास्थ्य माथि खेलवाड गर्दै पसल पसलमा म्याद नाघेका वस्तुहरु राखेकाले उपभोक्तहरु सचेत हुनु पर्छ र त्यस्ता व्यक्ति तथा पसलहरुलाइ कडा कार्वाही गर्नु पर्छ ।
No comments:
Post a Comment