कोहलपुर, २६ जेठ ः कोहलपुर मदनचोकका चौध वषिर्य किशोर विजय तिमिल्सेना २३ दिनदेखि बेपत्ता भएका छन् । उनको अझै कुनै पत्ता लागेको छैन ।
घरबाट साइकलमा मोवाइलको रिचार्ज कार्ड र किताव किन्न कोहलपुरको दशविगाह आएका किशोर तिमिल्सेना त्यसपछि घर सम्पर्कमा नरहेको उनका पिता चेतन तिमिल्सेनाले बताए ।
स्थानीय ज्ञानकुञ्ज माविमा कक्षा ९ मा अध्ययनरत विजय जेठ २ गते स्कूलबाट आएपछि खाजा खाई रिचार्जकार्ड र किताव किन्न भनेर निस्किएका थिए ।
मोवाइलको रिचार्ज कार्ड र किताव किन्न गएको छोरा अहिलेसम्म घर नफर्किएपछि परिवारका सदस्यहरु चिन्तित भएका छन् । घरपरिवारले साथीभाई, आफन्त सबै ठाउंमा खोजी गर्दा समेत विजयको अत्तोपत्तो नलागेको बताएको छ ।
बेपत्ता बालकका पिता तिमिल्सेनाले भने- साथीभाई र आफन्तकहां गएको छ कि भनेर सबै ठाउंमा खोजियो तर अहिलेसम्म कही पत्ता लागेको छैन ।
साथीभाई र आफन्तकहां नै छोराको खोजी गरिरहेका घर परिवारले अहिलेसम्म प्रहरी-प्रशासनलाई कुनै जानकारी दिएका छैनन् । इलाका प्रहरी कार्यालय कोहलपुरले किशोर बेपत्ता भएको बारेमा कुनै जानकारी नआएको बताएको छ ।
इलाका पहरी कार्यालय कोहलपुरका प्रहरी नायव निरीक्षक गणेश खड्काले किशोर बेपत्ता भएको घटनाको कुनै उजुरी नपरेको बताए ।
बाँकेमा यसअघि खजुराको ईगाउं र गौघाटमा पनि स्कूलबाटै बेपत्ता भएका युवाहरु पछि भारतमा भेटिएका थिए । उनीहरु काम गर्न स्कूले पोशाकमै घरबाट भागेर त्यता गएका थिए ।
No comments:
Post a Comment