नेपालगन्ज, २३ जेठ ः नेपालगन्जस्थित रंगशालामा संचालन भएको अन्तर विद्यालयस्तरीय क्षेत्रीय खेलकुद प्रतियोगितामा बांकेले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा बर्दियाले दोश्रो तथा सुर्खेतले तेश्रो स्थान प्राप्त गरेको छ ।
आईतवार सम्पन्न भएको सो प्रतियोगितामा बांकेले १५ अंक प्राप्त गरी प्रथम भएको थियो भने बर्दियाले १२ र सुर्खेतले १० अंक प्राप्त गरी क्रमशः दोश्रो र तेश्रो भएका थिए ।
आईतवार सम्पन्न एथ्लेटिक्स खेलतर्फ बांके जिल्ला अग्र स्थानमा रहेको छ ।
१ सय मिटर, ४ सय मिटर दौड र टि्रपल जम्पमा छात्रा तर्फका सवै खेलमा बांकेले प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो ।
सो प्रतियोगिताको १ सय मिटर दौडमा बांकेकी रमिता चौधरी प्रथम, बार्दियाकी सीता चौधरी दोश्रो र जुम्लाकी सावित्री विष्ट तेश्रो भएका थिए । त्यसैगरी ४ सय मिटरतर्फ बांकेकी दिलमाया कार्की प्रथम, बर्दियाकी कल्पना चौधरी दोश्रो र सुर्खेतकी डेनिसा घर्ती तेश्रो भएका थिए ।
टि्रपल जम्पमा बांकेकी दिलमाया कार्की प्रथम, सुर्खेतकी रुपा मल्ल दोश्रो र बर्दियाकी सिता चौधरी तेश्रो भएका थिए ।
यस्तै पुरुष तर्फको एथलेटिक्स खेलमा १ सय मिटर दौडमा बर्दिया प्रथम, ४ सय मिटर दौडमा दाङ प्रथम, ४ गुणा १ सय मिटर रिले दौडमा बांके प्रथम र टि्रपल जम्पमा पुन दाङ प्रथम हुन सफल भएको थियो ।
छात्रतर्फको १ सय मिटर दौडमा बर्दियाका आशाराम चौधरी प्रथम, बर्दियाका रामकृष्ण चौधरी दोश्रो र बांकेका विशाल गुरुङ्ग तेश्रो भएका थिए ।
त्यसैगरी ४ सय मिटर दौडमा दाङ्गका आशाराम चौधरी प्रथम, सुर्खेतका दिनेश राना दोश्रो र बांकेका रत्न थारु तेश्रो भएका थिए भने ४ गुणा १ सय रिले दौडमा बांके प्रथम, बर्दिया दोश्रो र दाङ्ग तेश्रो भएको थियो ।
टि्रपल जम्पमा भने दाङ्गका आशा राम चौधरी प्रथम, रामकृष्ण चौधरी दोश्रो र बांकेका विशाल गुरुङ्ग तेश्रो भएका थिए । त्यस्तै भलिवलको फाइनल खेलमा छात्रतर्फ सुर्खेतले कालिकोटलाई पराजित गरी विजय भएको थियो ।
उक्त खेलमा सुर्खेतले कालिकोटलाई २५-२३, २४-२६ र २५-१६ को अन्तरले पराजित गरेको थियो । यसै गरि छात्र तर्फकै भलिबल खेलमा बर्दियाले तेस्रो स्थानमा चित्त बुझाएको छ । बर्दियाले बांकेलाई २१-२५, २५-१३ र २५-१५ मा पराजित गर्दै तेश्रो भएको हो ।
यसै गरि छात्रा तर्फको भलिवल खेलमा बांकेले बर्दियालाई पराजित गर्दे उपाधि हात पार्न सफल भएको थियो । उक्त खेलमा बांकेले बर्दियालाई २५-२१, २५-१५ को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै तेश्रो स्थान भने कालिकोटले हात पारेको छ । कालिकोटले सुर्खेतलाई २५-१४, ११-२५ र २७-२५ अंकले हराउंदै तेश्रो भएको हो ।
एथलेटिक्स खेलको उत्कृष्ट खेलाडीमा बर्दियाका रविन चौधरी र बंाकेकी रमिता चौधरीलाई घोषित गरिएको छ । त्यसैगरी छात्रा भलिबल तर्फ बांकेकी पुजा थापा र छात्र भलिबल तर्फ कालिकोटका तोरन शाही उत्कृष्ट घोषित भए ।
प्रतियोगितामा प्रथम दितिय र तृतिय हुने खेलाडी तथा जिल्लाहरुलाई युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले आईतवार अपरान्ह पुरुस्कार, प्रमाणपत्र तथा शिल्ड वितरण गरेका थिए ।
क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जको आयोजनामा भएको प्रतियोगितामा मध्यपश्चिम क्षेत्रका ९ वटा जिल्लाहरु बांके, वर्दिया, सुर्खेत, दाङ, जाजरकोट, कालीकोट, सल्यान, रोल्पा र जुम्लाका दुई सय खेलाडीको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment