नेपालगन्ज, २४ जेठ ः बांके जिल्लामा ३ हजार भन्दा बढी बालबालिकाहरु बाल श्रमिकको रुपमा काम गरिहेको, १९ प्रतिशत बाल बालिकाहरु विद्यालय भन्दा बाहिर रहेको र अधिकांश बालबालिकाहरु सीमावर्ती क्ष्ाेत्रबाट तस्करीको काममा प्रयोग भईरहेको एक कार्यक्रममा बताइएको छ ।
नेपाल पत्रकार महासंघ, बांके शाखा र मध्यपश्चिम क्षेत्रीय समन्वय समितिको संयुक्त आयोजनामा सोमबार बांकेका बाल मुद्दा र सञ्चार अनुगमन बैठकमा उपस्थित सम्बद्ध संस्थाका प्रमुखहरुले सो कुरा बताएका हुन् ।
२००७ नोवेेम्बर २० तारिखका दिन जिल्ला बाल कल्याण समिति र बांके जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न गैह्र सरकारी संस्थाहरुले बाँकेलाई बालश्रमिक मुक्त जिल्ला घोषणा गरेपनि त्यो व्यवहारमा कार्यान्वयन हनु नसकेको सहभागीहरुको भनाई थियो ।
त्यसैगरी सिमावर्ती क्षेत्र भएको हुंदा नेपाल भन्दा बाहिर विभिन्न कामको लागि बालबालिकाहरुको ओसार पोसार हुने, बालबालिका हराउने, अपहरणमा पर्ने गरेको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बांकेको महिला तथा बालबालिका सेलमा आ.व. ०६६/०६७ मा महिला तथा बालबालिका हराएको विषयमा ७६ वटा निवेदन परेको बताइएको छ । निवेदन परेका मध्ये ३५ महिला, २३ बालक र १८ बालिका रहेका छन् । जस मध्ये अहिलेसम्म जम्मा ८ बालबालिका मात्र फेला परेका छन् । ति बालबालिकाहरु अलपत्र अवस्थामा, गाडीमा हिडिरहेको र मजदुरी गरेको अवस्थामा फेला
परेको महिला सेल बांके प्रमुख प्रहरी सहायक निरिक्षक ज्ञानु थापाले बताइन् ।
बांके जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेश विक्रम शाहले अधिकांश बालबालिकाहरु घर परिवारको कारण नै हराउने गरेको हुंदा घर परिवारले आफ्ना बालबालिकाहरुको विषयमा गम्भिर हुनुपर्ने बताए ।
जिल्ला बाल कल्याण समितिका प्रमुख एवं बांके जिल्लाका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले बालबालिकाहरु यसरी बाल मजदुरको रुपमा प्रयोग हुनु, शिक्षाबाट वञ्चित हुनुमा गरिबी मुख्य कारण भएको बताउदै यस विषयमा नगरपालिका, गाविस र जिविसले विशेष ध्यान दिनु पर्ने बताए ।
राज्यले बालबालिकाको विषयमा छुट्टयाएको बजेटलाई सम्बन्धित निकायले सम्बन्धित ठाउंमा नै लगानी गराउन तर्फर् संचार क्षेत्रले विशेष चासो दिनु पर्ने प्रमुख गौतमको भनाई थियो ।
सिविन नेपालका मधु दवाडीका अनुसार बांके जिल्लामा ९ वर्ष मुनिका ५ प्रतिशत, १० देखि १४ वर्षमुनिका ६० प्रतिशत र १४ देखि १७ वर्षमुनिका ४० प्रतिशत बालबालिका बाल श्रमिकको रुपमा काम गरिरहेका छन् ।
यस्तो अवस्थामा सञ्चार माध्यमले यस विषयमा गहिराईमा गएर कलम चलाउनु पर्ने उनको भनाई छ । सेभ द चिल्ड्रेनका पशुपति सापकोटाले ५ वर्ष अगाडि भर्ना भएका विद्यार्थीहरुको ५ वर्षपछि अनुगमन गर्ने हो भने ४० प्रतिशत भन्दा कम विद्यार्थी मात्र विद्यालयमा भेटिने र ६० प्रतिशत बालबालिकाहरु नभेटिने हुंदा ति बालबालिकाहरु शिक्षाबाट वञ्चित भएको बताएका छन् ।
एफाका पूर्ण चन्द्र उपाध्यायले १९ प्रतिशत बालबालिकाहरु जो विद्यालय भन्दा बाहिर छन् ति बालबालिकाहरु जोखिमको स्थितीमा बाल श्रमिकको रुपमा काम गरिरहेको बताए ।
एफएनसीका क्ष्ाेत्रीय संयोजक मान बहादुर क्षेत्रीका अनुसार बांके जिल्लामा ४ सय ६६ कमलरीहरु रहेकोमा ३ सय ७७ जनालाई उद्दार गरिसकेको र ८९ कमलरीहरु अझैपनि बांके जिल्लाको विभिन्न व्यक्तिको घरमा कमलरीको रुपमा काम गरिरहेको बताए । उनले ती कमलहरीलाई मुक्त गर्न सहयोग गर्न आग्रह पनि गरे । जिल्ला बाल क्लब सञ्जाल बांकेका अध्यक्ष अनुभा राणाका अनुसार बालबालिकाको क्षेत्रमा काम गर्नेहरुको घरमा नै बालबालिकाहरुलाई बाल श्रमिकको रुपमा काम गर्न राखिएको छ । उनले हराएका बालबालिकाका बारेमा कसैले चासो नदिएको गुनासो गरिन् ।
मध्यपश्चिम समन्वय समितिका संयोजक प्रेम केसीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्दि्रय सदस्य जनक नेपाल र शाखा अध्यक्ष झलक गैरेले सहजीकरण गरेका थिए भने कार्यक्रममा बांके जिल्लामा काम गर्ने संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
No comments:
Post a Comment