नेपालगन्ज, २२ जेठ ः शान्ति सुरक्षामा खटीएका सुरक्षाकर्मीहरुनै आपराधिक गतिविधिमा लागेपछि के होला ? जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छ त्यहां स्थिति भयावह हुन्छ भनेर । यस्तै भएको छ बांके जिल्लामा पनि ।
सत्य, सेवा, सुरक्षणम्को मुल मन्त्र जपेर नेपाल प्रहरीमा जागिर खाएका प्रहरीहरु नै मन्त्रको अवमूल्य गर्दै कुबाटो तिर लागेका छन् । शान्ति सुव्यवस्था कायम गर्न र मिलेर जनताको सेवा गर्न बांकेका राप्तीपारी खटाइएका प्रहरीहरु यतिखेर वन्यजन्तुको सिकार खेल्न व्यस्त छन् ।
कसैले वन्य जन्तुको चोरी सिकार गरेमा पक्राउ गरि कानुनको कट्घरामा उभ्याउनुको साटो प्रहरी आफै वन्य जन्तु मार्नमा तल्लीन छ । आत्म रक्षाका लागि सरकारले दिएको हतियारको दुरुपयोग गर्दै बांकेको राप्ती पारी चौंकी र क्याम्प खडा गरी बसेका जनपद र सशस्त्र प्रहरीहरु जंगलमा गइ वन्य जन्तुको सिकार गरिरहेका छन् ।
राप्ती पारीको भोजभगवानपुर, गंगापुर, कट्कुइंया लगाएत विभिन्न ठाउंमा चौंकी, इलाका र वेस क्याम्प खडा गरि बसेका जनपद र सशस्त्र प्रहरीहरुले दिनहु नजिकै रहेको राष्ट्रिय जंगलमा गएर वन्य जन्तुहरु मारेर ल्याउने गरेको स्थानिय वासिन्दाहरुले वताएका छन् ।
गंगापुरबाट स्थानिय वासिन्दाको एउटा टोली नेपालगंज आइ प्रहरीहरुले वन्यजन्तु मारेर सखाप पार्न थालेको गुनासो गरेका छन् । उनिहरुले दिनदहाडै प्रहरी हतियार लिएर जंगलमा गइ चित्तल, जरायो, वदेंल, खरायोको सिकार गरि ल्याउने गरेको वताए ।
विभिन्न राजनितीक दलका गाविस स्तरिय नेता सहितको टोली नेपालगंज आइ प्रहरीले वन्यजन्तु मारेर सिध्याउन लागेकोले प्रशासनले त्यस्तो कार्य तत्काल रोक्न लगाउनु पर्ने वताए । मधेशी जनअधिकार फोरम गंगापुर गाउं इकाइ समितीका अध्यक्ष जगदीश प्रसाद मौर्यले केही स्थानिय व्यक्तिलाई समेत लिएर प्रहरीहरु सिकार खेल्न जाने गरेको वताए ।
'तपाइ अहिले पनि जानुस राप्ती पारी रहेका प्रहरीको चौंकी होस या सशस्त्रको क्याम्प होस कुनैमा पनि चित्तल, वदेंलको मासु भेट्न सक्नु हुन्छ, कहिल्यै खाली हुंदैन, -यस समाचारदातासंग कुरा गर्दै मौर्यले भने-वन्य जन्तु नमारेको हप्ता खाली छैन । दिउंसो पनि राती पनि ड्याङ् ड्याङ्ती वन्दुक पड्कीरहेका हुन्छन् ।
उनिहरुका अनुसार, चित्तल, वदेंल मारेर सुकुटी बनाइ त्यहांका इलाका, चौंकी इन्चार्जहरुले आफ्ना हाकीम तथा आफन्तकहांसम्म पुर्याउने गरेका छन् । 'जनावर नमार भन्दा उल्टो हामीलाइ नै पिट्लान जस्तो गर्छन् कसले रोक्ने प्रहरीलाइ ? आफुले सकेजति खान्छन् अरु सुकाएर नेपालगंज तिर ल्याउंछन् ।' अर्का स्थानिय वासिन्दा जोखन प्रसाद मौर्यले भने । गंगापुरका एक प्रहरीले बेला बेलामा जंगलमा गएर चित्तल, वंदेल मारेर ल्याउने गरेको र सुकुटी बनाएर बाहिर पनि पठाउने गरिएको वताए ।
प्रहरीले वन्यजन्तु मार्नमा सरकारी गाडीको प्रयोग गर्ने गरेको छ । प्रहरीले सिकार खेलेको देखेर गाउंका अन्य व्यक्तिहरु पनि जंगलमा सिकार खेल्न जाने गरेको उनिहरुले वताए । राप्तीपारी स्थापना गरिएका प्रहरी यूनिटहरुमा कति गोली दिइएको हो कति केमा खर्च भयो त्यसको लेखाजोखा समेत जिल्ला प्रहरी कार्यालयले नराखेको एक प्रहरी अधिकृतले वताए ।
अरुले गल्ती गर्दा कानुन लाग्ने र प्रहरीले गल्ती गर्दा केही नहुने हुनाले प्रहरीप्रतिको विश्वसनियता हराउंदै गएको स्थानिय वासिन्दाहरुको गुनासो छ ।
नेपालगन्जस्थित सीमा सुरक्षाका सशस्त्र प्रहरी उपरिक्षक तारा पन्तले राप्तीपारी रहेको सशस्त्र प्रहरीको यूनिटले वन्यजन्तुको सिकार खेलेको विषयमा आफुलाइ कुनै जानकारी नआएको र त्यस विषयमा सोधपुछ गरिने वताए । सशस्त्र प्रहरीको राप्तीपारी गंगापुर र कट्कुइंयामा बेस क्याम्प रहेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी उपरिक्षक महेश विक्रम शाहले यस विषयमा बुझ्ने वताए । राप्तीपारी रहेका जनपद र सशस्त्र प्रहरीको क्याम्प, इलाकामा फोन सम्पर्क गर्दा उनिहरु सम्पर्कमा आउन चाहेनन् ।
प्रहरीले गरेको वन्यजन्तु चोरी शिकारी बारे केही थाहा नभएको जिल्ला वन कार्यालय बाँकेले जनाएको छ । राष्ट्रिय वनमा गएर कसैले पनि चोरी शिकार खेल्न नपाउने जनाउँदै यदि त्यस्तो फेला परेमा कडा कारवाही गरिने वनले जनाएको छ ।
No comments:
Post a Comment