Thursday, June 17, 2010

अन्तरालको सांगितिक श्रृंखलामा रुपाखेती

नेपालगन्ज, १ असार ः नेपालगञ्जका युवा गजलकार राजन रुपाखेती अन्तरालको जेठ श्रृंखलामा प्रस्तुत भएका छन् । मासिक रुपमा संगीत श्रृंखला गर्दै आएको अन्तरालको जेठ श्रृंखलामा पहिलो पटक रुपाखेतीले गीत गाएका थिए ।
मानवीय सम्बन्ध र प्रेमलाई गजलको माध्यमबाट कलात्मक अभिब्यक्ति दिंदै आएका रुपाखेतीले गायनका लागि छनौट गरेको गीत 'मैले गाएको गीतमा तिम्रै हंसिलो मुहार छ, मैले लाएको प्रीतमा तिम्रै रसिलो प्यार छ' ले दर्शकलाई यथेष्ठ मनोरन्जन दिएको थियो । कवि भूपि शेरचनद्वारा लिखित उक्त गीत गाइरहंदा मन्त्रमुग्ध बनेका दर्शकहरुलाई राजनले पहिलो पटक स्टेजमा गायनकालागि आएको भन्ने छनक नै महसुस हुन दिएनन् ।
गायक दीपक सल्मानी, गायिकाद्वय नम्रता पन्त र रेश्मा केसीले समेत अन्तरालको जेठ श्रृंखलामा स्वर दिएका थिए । तवलामा भरत थापा, गिटारमा निता गुरुङ्ग र प्रतीक देवकोटा तथा इफेक्टमा कृष्ण केसीले साथ दिएको यस श्रृंखलामा ९ आधुनिक गीतहरु प्रस्तुत गरिएको थियो ।
हरेक नेपाली महिनाको अन्तिम शनिवार मासिक रुपमा नेपालगञ्जमा संगीत श्रृंखला सञ्चालन गर्दै आएको अन्तरालले जेठको श्रृंखला ३१ गते अन्तराल भवन बुलबुलियामा आयोजना गरेको थियो ।

No comments:

Post a Comment