नेपालगन्ज, २६ जेठ ः बांकेको बसुदेवपुर,चिसापानी र परसपुर गाविसमा कृषकहरुले दोस्रो चरणमा लगाएका मकैमा दाना नलागेपछि कषकहरु चिन्तित भएका छन् ।
नेपालगञ्जका एग्रोभेटबाट किनेर लगेको अरुण २ को मकैमा घोका लागेपनि दाना नलागेको कृषकहरुले बताएका छन् ।
हेर्दा बोट र घोका राम्रो रहेपनि मकैमा दाना नभएको पाईएको जिल्ला कृषि विकास कार्यालय बांकेले जनाएको छ ।
बांकेको बसुदेवपुर गाविसको कण्ठपुर,चिसापानी गाविस र परसपुरमा कृषकहरुले लगाएको अरुण २ को मकैमा दाना नलागेको भेटिईएको बाँकेका जिल्ला कृषि विकास अधिकृत कमलकान्त झाले बताए ।
उनका अनुसार मकैमा पानी सिचाईको अभाव र वातावरणीय प्रभावका कारण दाना नलागेको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यो बर्ष बांकेमा मकैबालीमा उत्पादनमा हृास आउने भएको छ ।
अत्याधिक तापक्रम, सिचाईको अभाव, पानी नपर्नु मकै उत्पादनमा कमी आउनुका प्रमुख कारण रहेको बताईएको छ ।
मकै उत्पादनका साथसाथै अन्य बालीका लागि उर्वरभूमि मानिएको बांकेमा यस पटक गर्मी बिगतका तुलनामा बढी भएकोले पनि मकैको उत्पादनमा प्रभाव परेको कृषि बिज्ञहरुको अनुमान छ ।
मकैमा दाना नलाग्नुको कारणबारे गहिरिएर अनुसन्धान भैरहेको जनाउदै जिल्ला कृषि विकास कार्यालय बांकेले बिशेषज्ञ लगाए कारणको खोजी गराइरहेको जनाएको छ ।
सो कार्यालयका अनुसार अहिले जिल्लाका विभिन्न स्थानमा लगाईएको खेतीको अनुसन्धान भैरहेको छ ।
No comments:
Post a Comment