नेपालगन्ज, ४ जेष्ठ ः वैदेशिक रोजगार विभाग र व्यवसायिक तथा सिप विकास तालिम केन्द्रको आयोजनामा भएको वैदेशिक रोजगार सम्बन्धी सचेतना कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई नेपाल सरकारले आवश्यक सुरक्षाको प्रत्याभुति दिन नसकेको पनि गुनासो गरे ।
कार्यक्रममा वैदेशिक रोजगार विभागका श्रम अधिकृत तिर्थ खनालले वैदेशिक रोजगारी सम्बन्धि दिने सम्पूर्ण सेवा केन्द्रीकृत भएकोले विकट ठाउंका जनताको पहुँच हनु नसक्दा सर्वसाधारणलाई सहज र सरल रुपमा सेवा उपलब्ध गराउन नसकेको बताए । अधिकृत खनालले सरकारको सूचना राख्ने शैली र संयन्त्र कमजोर भएको हुूदा पनि भनेको समयमा ठिक सूचना दिन नसकेको बताए । उहांले नेपाल सरकारबाट स्वीकृत लिएर एक जना पनि एजेण्ट नभएको हुंदा गाउं गाउंमा झोला बोकेर एजेण्टको नाम लिएर आउने ठगहरुदेखि नागरिक समाज सचेत हुनुपर्नेमा जोड दिए । वर्षेनि ३ लाख २५ हजारको हाराहारीमा नेपाली नागरिक वैदेशिक रोजगारीको लागि जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा देखाएको छ । नेपाल सरकारले १०८ देशमा वैदेशिक रोजगारीको लागि बाटो खुला गरेको छ ।
सिप विकास तालिम केन्द्रका केन्द्र प्रमुख जेण्टील गौतमले वैदेशिक रोजगारीमा जांदा व्यक्तिगत रुपबाट भन्दा पनि म्यानपावरको माध्यमबाट जांदा ठगिको सम्भावना कम रहेको बताए । म्यानपावरको माध्यमबाट जांदा कुनै समस्या वा अप्ठ्यारो पर्न गएमा नेपाल सरकारको तर्फबाट क्षतीपूर्तीको व्यवस्था हुने भएको हंुदा जो वैदेशिक रोजगारीमा जाने हो ऊ आफैले सबै कुरा बुझेर मात्र जानु पर्ने बताए । नेपालगन्जका राजनितिक दलका प्रतिनिधि, पत्रकार, नागरिक समाजहरुको उपस्थिती रहेको कार्यक्रममा वैदेशिक रोजगार ऐन तथा नियमावली २०६४, वैदेशिक रोजगार विभागको परिचय र यसको कार्य संचालन प्रक्रिया सम्बन्धी व्यवस्थाको बारेमा आधारपत्र प्रस्तुत गरिएको थियो ।
No comments:
Post a Comment